२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

श्रीगोपाल प्रजापतिः माटोबाट संस्कृतिसम्मको जीवन–यात्रा



श्रीगोपाल प्रजापति मध्यपुर थिमीका एक विशिष्ट ऐतिहासिक साँस्कृतिक व्यक्तित्व हुनुहुन्छ । उहाँ भैरव नाच, महाँकाली नाच, अष्टमात्रिका नाच, भष्मासुर, लाखें, ज्यापु–ज्यापुनी नाच लगायत दर्जनौं परम्परागत नृत्यका ज्ञाता र गुरु हुनुहुन्छ ।

उहाँको जन्म वि.सं. १९८७ साल पुस शुक्ल द्वादशीको दिन जन्मिएका श्रीगोपाल प्रजापति, थिमीका बासिन्दा मात्र होइनन्, उनी नेवार समुदायको साँस्कृतिक पहिचानका साक्षात अभिव्यक्ति हुन्। उहाँको बुबाको नाम सिद्धिलाल प्रजापति र आमाको नाम लक्ष्मीमाया हो ।

जीवनका ९५ वसन्त पार गरिसक्दा पनि उहाँ हरेक बिहान ६ बजे चपाचोस्थित विश्वविनायकको दर्शन गरेर दिनको आरम्भ गर्नुहुन्छ-जसरी उहाँले जीवनलाई पनि सांस्कृतिक अनुशासनबाट नै सुरु गर्नुभयो।

बाजाबाट नृत्यसम्मः स्वर, ताल र चालको गुरु

श्रीगोपाल कुनै एक विधाका कलाकार मात्र होइनन् । उहाँ परम्परागत वाद्ययन्त्रहरू धिमे, मृदङ, दाफाखिं, धाँ, र आधुनिक हार्मोनियम, बाँसुरी, तबलामा समान रूपमा दक्ष हुनुहुन्छ । यिनै वाद्ययन्त्रहरूमा नाचले ताल पाउँछ, तालले संस्कृति बाँच्दछ, र संस्कृति बाँच्दा नेपालको आत्मा मुस्कुराउँछ।

श्रीगोपाल प्रजापतिले भैरव नाच, महाँकाली नाच, अष्टमात्रिका नाच, भष्मासुर, लाखें, ज्यापु–ज्यापुनीलगायत दर्जनौँ नाचहरूमा गुरुको भूमिकामा रहेर नयाँ पुस्तालाई सिकाउँदै आइरहनुभएको छ ।

माटोको सुगन्धः जीवनको मूल रंग

माटो उहाँको जीवनको पहिलो शिक्षक हो । बाजे शिवनारायण प्रजापतिसँगै भाँडा बनाउँदै हुर्कंदा उनले बुझे—माटो केवल भाँडा होइन, संस्कृतिको क्यान्भास हो । ९ वर्षको उमेरदेखि ‘सलि’ बनाउन सिक्नुभएको श्रीगोपालले आफ्नो जीविका र जीवनदर्शन दुवै यही माटोबाट शुरु गर्नुभयो।

साँस्कृतिक पुनर्जागरणका अभियन्ता

वि.सं. २०४६ सालमा उहाँकै नेतृत्वमा थिमी कला परिषद् गठन भएको थियो । जब परम्परागत नाचहरू लोप हुने संघारमा थिए, तब श्रीगोपालले त्यसलाई बचाउने जिम्मेवारी लिएर युवाहरूलाई संगठित गर्नुभयो। परिषद्को पहलमा ४० वर्षदेखि बन्द रहेको ’लायकू भैलः’ नाच पुनः सुरु गरिएको ऐतिहासिक उपलब्धि हो।

फिनल्यान्डसम्मको साँस्कृतिक यात्रा

वि.सं. २०४९ सालमा ४२ राष्ट्र सहभागी कार्यक्रममा नेपालको तर्फबाट भैरव नाच, महाकाली नाच, वापिज्याः प्याखँ प्रस्तुत गर्दै उहाँले नेपाली संस्कृतिलाई फिनल्यान्डसम्म पु¥याउनुभयो। भाषाको अवरोध हुँदाहुँदै पनि उहाँले संस्कृतिको शक्तिलाई मौन भाषामा व्यक्त गर्न सक्नु अर्को सफलता थियो ।

व्यक्तिगत जीवन, समाजप्रतिको समर्पण

श्रीगोपालका तीन छोराहरूः गणेशराम, लिलाराम र कृष्ण प्रजापति छन् । धर्मपत्नी स्व. सुन्दरीमायासँग जीवन यात्रा बाँड्दा उनले संस्कृतिको नालीबेलीसम्म नयाँ पुस्तालाई समर्पित गरे । विद्यालय, स्कुल, टोलको विकासमा योगदान दिनु उहाँको साधना हो।

२०२३, २०२६, र २०२९ सालमा प्रधानपञ्चको जिम्मेवारी सम्हाल्नु पनि समाजप्रतिको निष्ठाको उदाहरण हो। थिमी नगरपालिकाले उहाँलाई ‘नागरिक अभिनन्दन’ गरिसकेको छ।

दर्शन, ध्यान र दिनचर्या

बिहानै विश्वविनायक, सिद्धिकाली, बालकुमारी, विष्णुवर, दिगु भैरव, महेश्वरी, हरिसिद्ध र भीमसेन मन्दिरको दर्शनले उहाँको दिनको सुरुआत हुन्छ । यो धार्मिक अनुशासन उहाँको जीवनशैली मात्र नभई संस्कृतिसँगको अनवरत सम्बन्ध पनि हो ।

श्रीगोपाल, कुनै किताबको पात्र होइनन्, उहाँ माटोबाट बनेको आत्मा हुनुहुन्छ, जसले धिमेको तालमा साँस्कृतिक उत्तराधिकार गुञ्जाइरहनुभएको छ। नयाँ पुस्ताका लागि उहाँ केवल गुरु मात्रै होइनन्, जिउँदो धरोहर, मौन भाष्यकार र जीवन्त प्रेरणा हुनुहुन्छ ।
यसकारण थिमीको गल्लीहरू, माटोका गन्धहरू, धिमेको ताल र लाखेंको आँखाभित्र कतै न कतै श्रीगोपाल प्रजापतिको छायाँ आज पनि बाँचिरहेकै छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार ००:००  १२ : ५४ बजे