६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

दार्चुलाको अपि हिमालमा माउन्टेन गाइड कोर्स सञ्चालन हुने



दार्चुलाको अपि हिमालमा हुने ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त कार्यकर्म दिगो पर्यटन कर्यक्रम र नेपाल पर्वतारोण संघ (एनएमए) बीच अपि हिमाल गाउँपालिका संग सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

एनएमएले आफ्नो विज्ञ प्रयोग गरी सीटीभीटीईसँगको सहकार्यमा १६९६ घण्टाको माउन्टेन गाइड पाठ्यक्रम तयार गरेको छ, जसको उद्देश्य नेपाल सरकारले आरोहणको लागि खुल्ला गरेका ५,८०० मिटरदेखि ८८४८.८६ मिटर (सगरमाथा)सम्मका ४७६ हिमाल आरोहण गर्नका लागि आवश्यक माउन्टेन गाइड उत्पादन गर्नु हो । साथै यो पाठ्यक्रमले नयाँ हिमालहरूको खोज अनुसन्धान तथा प्रवर्द्धन गर्न सक्ने माउन्टेन गाइड उत्पादन गर्ने एनएमएका अध्यक्ष निमा नुरु शेर्पाले बताए ।

माउन्टेन गाइडअन्तर्गत समर स्किल तालिम अपि हिमालमा गर्नुको उद्देश्य अपि हिमाललगायत सुदूरपश्चिमका हिमालहरूको प्रवर्द्धन गर्नु र पर्यटन विकासमा टेवा पुर्‍याउनु रहेको अध्यक्ष शेर्पाकाे भनाइ छ ।

एनएमएका तालिम समितिका संयोजक तथा सचिवालय सदस्य राजेन्द्रबहादुर लामाका अनुसार यो एनएमएले सञ्चालन गरेको माउन्टेन गाइड तालिमअन्तर्गतको ‘समर स्किल’ तालिम हो, जसमा माउन्टेन गाइड तालिमअन्तर्गतको पहिलो चरणको ‘फन्डामेन्टल फर माउन्टेनेरिङ’ तालिम लिएका प्रशिक्षार्थीहरूले सहभागिताका लागि आवेदन दिन पाउनेछन् ।

उक्तसम्झौता अनुसार बुधबार नेपाल पर्वतारोण संघ (एनएमए) आवेदन खुला गरेको छ । इच्छुकले १२ अगस्ट २०२५ सम्म आवेदन दिन पाउनेछन् । सम्झौताअनुसार काठमाडौं र अपि हिमालमा ३५ दिने माउन्टेन गाइड तालिम सञ्चालन हुनेछ ।

तालिममा सैद्धान्तिकतर्फ पर्वतीय मौसम, आरोहण उपकरण, वातावरण संरक्षण, हिमाल भू–विज्ञान, हिमाली हावापानी, हिमाल जीव तथा वनस्पति, हिमाल सम्पदालगायत विषयमा प्रशिक्षण दिइनेछ । त्यस्तै प्रयोतात्मकतर्फ म्याप तथा माउन्टेन नेभिगेसन, लिड रक क्लाइम्बिङ, एङ्करिङ, क्याम्पिङ / बिभोकिङ, ग्ल्यासियर वाक, ग्ल्यासियर रेस्क्यू सिस्टम, रोप फिक्सिङ, पिक क्लाइम्बिङ स्किल, आधारभूत क्यानोनिङ, ग्रीष्मकालीन सुरक्षालगायत प्रशिक्षण दिइनेछ ।

तालिमको सैद्धन्तिक प्रशिक्षण काठमाडौंमा हुने छ भने प्रयोगात्मक प्रशिक्षण अपि हिमाल क्षेत्रका ग्लासियरमा गरिनेछ । यस क्रममा प्रशिक्षार्थीलाई अहिलेसम्मा मानव पाइला नपरेको ल्हायुल पिक (६,३९५ मिटर) आरोहण गराइनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार ००:००  ९ : ५० बजे