काठमाडाै । पर्यटकीय राजधानी पोखरामा साहसिक पर्यटनको नयाँ आयाम थपेको हट एयर बेलुनले फेरि बेलुन उडान गर्ने भएको छ । उडानका लागि बलुन नेपालले स्वदेशी तथा विदेशीका लागि बुकिङ खुल्ला गरेको छ ।
करिब ९ हजार फिट उचाइमा उड्ने यी बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला, पूरै फेवाताल, पुम्दिकोट महादेव, सराङकोट र उड्दै गरेका प्याराग्लाइडरहरूसहित पोखरा उपत्यकाको ३६० डिग्री मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
सेप्टेम्बर १५ देखि पोखराको आकाशमा बेलुन उडान पुनः सुरु गर्न लागेको बलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी हो ।
बाडेका अनुसार यस पटक तीन वटा बेलुनबाट सेवा दिने तयारी पूरा भएको छ । कम्पनीले १८० साइजका ८ सिट, २१० साइजका १२ सिट र नयाँ २६० साइजका १६ सिटका बेलुनबाट पुनः स्थगित उडान सुरु गर्न लागेको हो ।
बिहान ५ बजेदेखि ९ बजे र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा उडान हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन वर्षदेखि माथिका उमेर समूहका व्यक्ति बेलुनमा चढ्न सक्नेछन् । पोखराको पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको ४ किलोमिटर दूरीमा उडान हुने अध्यक्ष बाडेले जानकारी दिए ।

गत वर्ष डिसेम्बर २४ देखि जनवरी १ सम्म आयोजित नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलले नेपाललाई विश्व मञ्चमा नयाँ पहिचान दिलाएको अध्यक्ष बाडेको दाबी छ । उनका अनुसार १५ वटा देशका बेलुन सहभागी भएको त्यस फेस्टिभलको कभरेज सीएनएन, बीबीसी, वल्र्ड स्ट्रिट जर्नीजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका थिए ।
भक्तपुरको नगदेशमा जन्मिएका ३५ वर्षीय विक्रम बाडे हट एयर बेलुनिङलाई नेपालमा स्थापना गर्ने अग्रणी व्यक्तित्व हुन् । बाल्यकालमा काठमाडौँमा सनराइज कम्पनीले उडाएको बेलुन देखेर सुरु भएको सपनालाई उनले वास्तविकतामा रूपान्तरण गरे ।
नेपालीका लािग ११ हजार
बेलुनमा आधा घण्टादेखि ४० मिनेटसम्म उडेको नेपालीले ११ हजार रुपैयाँ, सार्क मुलुक र चिनियाँ नागरिकले १२० डलर र अन्य देशकाले १५० डलर तिर्नु पर्छ । प्याकेजमा पोखराको लेक साइडबाट पिकअप, ड्रप, उडान, फोटो र भिडियो सुविधा हुन्छ । उडान रिजर्भ गर्ने सुविधा पनि छ ।
