काठमाडौँ । थाइल्यान्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले सफ्ट ओपनिङ गरेको छ ।
नयाँ वर्ष अर्थात् सन् २०२६ जनवरीदेखि कास्की जिल्लाको कास्कीकोटमा रिसोर्ट सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक प्रपाइजित थोङ्माले जानकारी दिए । उनका अनुसार रिसोर्टको औपचारिक उद्घाटन (ग्रान्ड ओपनिङ) छिट्टै गरिनेछ ।
“द सेन्टारा कलेक्सनअन्तर्गतको लक्जरी ब्रान्ड पोखरामा ल्याउन पाउँदा हामी निकै खुसी छौँ। नयाँ वर्षको सुरुवातसँगै पाहुनाहरूले पोखरामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटनको अनुभव गर्न पाउनुहुनेछ,” थोङ्माले भने ।
रिसोर्ट पोखरा सहरबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटमा अवस्थित छ । यहाँबाट अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
रिसोर्ट क्षेत्रबाट फेवातालमाथि उड्ने प्याराग्लाइडिङको दृश्यसमेत नजिकबाट हेर्न सकिनेछ ।

रिसोर्टमा स्विट र भिल्लासहित कुल ४२ वटा कोठा छन् । प्रत्येक कोठामा निजी बगैँचा र फराकिला बाल्कोनीको सुविधा उपलब्ध छ । रिसोर्टमा २४सै घण्टा सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउन्ज, स्विमिङ पुल, टी–हाउस र स्पा सेवा पनि रहेका छन् ।
कम्पनीका अनुसार उद्घाटन अवसरमा नेपाली पाहुनाका लागि विशेष अफर सार्वजनिक गरिएको छ । आगामी मार्च ३१ सम्म प्रतिरात २५ हजार रुपैयाँमा बेड एन्ड ब्रेकफास्ट प्याकेज उपलब्ध हुनेछ ।
साथै, खाना तथा स्पा सेवामा १० प्रतिशत छुट र अपराह्न निःशुल्क चियाको व्यवस्था गरिएको छ ।


