इन्डियन आइडल प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान दिल्लीमा आफ्नै अपार्टमेन्टमा हृदयघात भएर निधन भएको परिवार स्रोतले बताएको छ ।
गायक तथा अभिनेता समेत रहेका ४३ वर्षिय तामाङ नेपालमा चर्चित थिए । उनले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । उनले ‘गोर्खापल्टन २’ बाट नेपाली फिल्मको अभिनयमा डेब्यू गरेका थिए । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा समेत काम गरेका थिए ।
त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् ।
उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।


