२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

हिमालयमा पुर्खाहरूले छोडेका ‘सुनअक्षर’ खोज्ने बोम्बोहरु




बोम्बोले सुनाउने ‘कैरन’हरू इतिहास भन्दा फरक छैन । यो अलिखित इतिहासको मौखिक दस्तावेजहरु हुन् । जहाँ इतिहास आफैं बोम्बोको रूप लिएर पुर्खाको गाथा र कैरणहरु घटौ सुनाउँन सक्छन् ।

उकालीमा भेटिने देउराली, डिलमै अडिएको ठुलो ढुंगा, त्यस ढुंगाभित्रको गुफा, पहराको बीचमा अडेस लागेर बसेको शिलढुंगा र पहाडको काखबाट झरेका झर्नाहरू, यी सबैले बोम्बोको कथा बोल्छन् । बोम्बोको ड्याङग्रोमा बज्ने ध्वनीले कोशौं टाढासम्म कम्पन दिन्छन् । जहाँ बोम्बो कैरण, स्मृति र पुर्खाहरूको विश्वास अडिएको हुन्छ ।

सेतो जामा, विशेष प्रकृतिको ड्याङग्रो, मन्त्रसँगै उठ्ने आवाजको कम्पन, घण्टा र मालाको ध्वनी अनि शीरमा सजिएको पगरी कुनै आभूषण मात्र होइनन् । यी हिमालका देउताहरूलाई बोलाउने श्रीपेज हुन् । जब बोम्बो ड्याङग्रो बजाउँछन्, हिमाल मौन रहँदैन; ऊ सुन्छ, प्रतिक्रिया दिन्छ । सप्तकोशीको बहाफसँगै, तराइको फाँट भएर चुरे पर्वतको हावासँग रमाउँदै पहाडको गुराँसको कथा सुनाउने यी बोम्बोहरु हिमालको काखको कुण्डहरुमा आफूलाई चोख्याउँछन् । अनि सुनाउँछन्, पुर्खाको कथाहरु ।

अनि सुरु गर्छन् ‘किपट र पुर्खाको विरतासँगै गाँसिएको कुल देवता’

हाम्रा आख्खे म्मेहरूले धन्यपूर्णिमाको साँझपख फोला–डाला बनाउँदै गर्दा सुनाउने ती कथाहरू आज पनि हाम्रो छातीभित्र ज्योमोगाङ (सगरमाथा) जस्तै उभिन्छन् ‘अडिग, विशाल भएर ।

ल्हा साङसी गर्ने परम्परा अहिलेको समयसँग केही रुपान्तरण भएको छ । किनकि समय फेरिए पनि बोम्बोको मार्ग फेरिएको छैन । यही परम्परा, मिथक र किवदन्तीमा गाँसिएका बोम्बोहरू आज पनि सुनकै भाषा बोल्छन् । सुनकै ड्याङग्रो बजाउँछन् । सुनै भाला बोकेर, सुनकै पगरी लगाएर मधेसबाट पहाड उक्लिन्छन् । अनि पहाडबाट हिमालयको हिउँमा पुगेर हाम्रा पुर्खाहरूले छोडेका ‘सुनअक्षर’को गन्ध खोज्छन् । जुन अक्षर कहिल्यै लेखिएनन्, तर, कहिल्यै मेटिदैन ।

यी कथाहरू सात रात, सात दिनमा टुंगिँदैनन् । सयौं वर्षका जीवन्त गाथाहरू बोम्बोको स्वरमा पुनःजन्म लिन्छन् । शब्दहरूको मौलिकता, संवेदनशीलता र उच्चारण शैली-यी सबै लिखित इतिहासभन्दा अलिखित इतिहाससँग जोडिएका छन् । बोम्बोका कैरणहरू सुन्ने कुरा मात्र होइनन् । ती अनुभवहरु हुन् । ती कथाहरू सुन्दा मानिस आफ्नै जन्म, आफ्नै मृत्यु र आफ्नै यात्राबारे सोच्न थाल्छन् ।

यही अलिखित इतिहासको धारमा उभिएका छन्:- दोलखाको तामाकोशी गाउँपालिका झुलेका मक्कल पाख्रिन तामाङ । उनी बोम्बो अभ्यासबाट बनेका होइनन्; प्रकृतिले आफैं रोजेको पात्र जस्तै लाग्छ । उनको ड्याङग्रोमा बज्ने ध्वनीमा पहाडको चिसो सास भेटिन्छन् । जब उनी ल्हा साङसी गर्छन्, धूपको धुवाँसँगै पुर्खाहरूको नाम सुनाउँछन्, जति बेला नाम मात्र होइन, स्मृति बोल्छ । उनले कैरणको रुपमा ल्याउने सुन धारा र पानीको कथा मात्रै होइन; मानव र देवताबीच बगेको सम्झौताको फेहरिस्ता सुनाउँछन् ।

अर्को पात्र हुन्, भीमेश्वर नगरपालिका बोचका जीत बहादुर पाख्रिन बोम्बो परम्पराका जीवित पुस्तक हुन् । उनले बोकेको ज्ञान गुरुबाट मात्र आएको होइन; सपना, संकेत र पुस्तान्तरणको स्मृतिबाट आएको हो । उनका मन्त्रहरू उच्चारण होइनन्, संवाद हुन् । मानव र प्रकृति, जीवित र दिवंगतबीचको संवाद सुनाउँछन् । जब उनी ड्याङग्रो बजाउँछन्, त्यो ध्वनीले कान मात्र होइन, वंशीय स्मृतिलाई पनि हल्लाउँछ । उनका कथाहरू सुन्ने मानिस केवल श्रोता हुँदैन; ऊ यात्रु बन्छ ।

उनी पाख्रिनहरुको कुल पूजारी हुन् । राजनीति शास्त्र अध्ययन गरेका उनी रिटार्य सशस्त्र प्रहरीका अधिकृत समेत हुन् । रानीति शास्त्र अध्ययन गरेका उनको लागि यो सामानिजम अर्को पहिचान बनेको छ ।

जीतसँगै उनका कान्छा भाइ हुन्, यादव पाख्रिन । उनीहरु दाजुभाइ मात्र होइनन् एउटै परम्पराका फरक स्वर हुन् । यदि जीत बहादुर गहिराइ हुन् भने यादव पाख्रिन गति हुन् । उनी बोम्बो परम्परालाई समयसँगै हिँडाउन खोज्छन् । उनका कथाहरूमा पहाड र मधेस एउटै यात्रामा भेटिन्छन् । उनी सुनाउँछन् ः बोम्बोहरू कसरी सुनकै भाषा बोकेर मधेस झर्छन् र फेरि हिमाल फर्कन्छन् । उनका शब्दहरूमा परम्परा स्थिर छैन; त्यो चलायमान चेतनाको सातै सुर्य बालिदिन्छन् ।

यादव पनि नेपाल आर्मीबाट रिटाय भएका हुन् । तर, बोम्बोको कैरन र गाथा सुनाउन माहिर छन् । यही नै उनको अर्को कलात्मक पहिचान हो ।

यी बोम्बोहरूको पारिवारिक संस्कार, धैर्यता, सहनशीलता, आस्था र विश्वास वास्तवमै प्रशंसनीय छन्। उनीहरूले आफ्नो बोम्बो परम्परा र विधिअनुसार बस्नुपर्ने तथा गर्नुपर्ने विभिन्न गुफा–वास सफलतापूर्वक पूरा गरिसकेका छन्। यो विधि उनीहरूका लागि कुनै खुला विश्व विद्यालयभन्दा कम छैन।

यी तीन बोम्बो व्यक्ति मात्र होइनन् । उनीहरू हाम्रो सामूहिक स्मृतिका अध्याय हुन् । पाख्रिन वंशजका लागि काव्य र महाकाव्य भन्दा फरक नपर्ला । उनीहरूले बोकेको ज्ञान संग्रहालयमा थुन्ने वस्तु होइन; त्यो बाँच्ने चेतना हो । बोम्बोका कैरणहरू लेखिँदैनन्, तर तिनले हाम्रो छातीमा गहिरो अक्षर कोर्छन् ।

बोम्बोको कथा सुन्नु भनेको केवल भूतकाल फर्किनु होइन । त्यो भविष्यतर्फ हेर्ने आँखा पाउनु हो । किनकि जबसम्म बोम्बो छन्, पहाड मौन हुँदैन । जबसम्म ड्याङग्रो बज्छ, इतिहास मर्दैन ।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार ००:००  ४ : ४३ बजे