विवर गुरुङ
मनास्लु हिमाल चढ्नका लागि ३७१ जनाले अनुमति लिएका छन् । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) सिजनका लागि ३० टिमका ९५ महिला र २७६ जना पुरुष गरी ३७१ जनाले अनुमति लिएको पर्यटन विभागको साहसिक तथा पर्वतारोहण शाखाकी अधिकृत गुणा राईले बताइन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने आठ हजार १६३ मिटर अग्लो उक्त हिमाल चढ्न वर्षेनी विश्वभरबाट पर्वत आरोहीहरु नेपाल आउने गर्छन् । ‘सधै जस्तै यो वर्षको शरद ऋतुमा पनि मनास्लु हिमाल चढ्नको लागि विश्वका विभिन्न ठाउँबाट आरोहीहरु आउनु भएको छ,’ उनले भनिन्,‘उहाँहरुले अनुमति लिएर बेसक्याम तर्फ गइसक्नु भएको छ ।’ उनीहरुसँगै भरिया, गाइड र सहयोगीहरुको ठूलो समूह समेत मनास्लु बेसक्याम्पमा पुगेको छ ।
हिमाल चढ्नका लागि आएका आरोहीहरु अहिले क्याम्प एकमा रहेका छन् । उपर्युक्त मौसम र समयमा उनीहरुले हिमाल आरोहण गर्ने तयारी छ । ‘हामी अहिले आरोही सहित क्याम्प एकमा बसेका छौं,’ गाइड नबराज गुरुङले भने,‘यो क्याम्प अहिले आरोहीले भरिएको छ ।’

यस वर्ष आरोहणका लागि अनुमती लिएकाहरुबाट १५ करोड ६३ लाख ७२ हजार ९५ रुपैयाँ रोयाल्टी संकलन भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ३११ जनाले आरोहण गर्दा पर्यटन विभागले ३ करोड ७३ लाख लाख ८० हजार २७ रुपैयाँ रोयल्टी संकलन भएको थियो । २०७९÷०८० मा ३९४ जनाले आरोहण गरेका थिए ।
वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनास्लु आरोहण उपयुक्त मानिन्छ । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाईमा पर्छ । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो मौसममा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण संघले जनाएको छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए ।
विभागको तथ्याङ्क अनुसार शरद ऋतुमा हिमाल आरोहणका लागि कुल ४६ समूहका ४५२ जनाले आरोहणका लागि अनुमति लिएका छन् । जसमा ४६ जना महिला र ३४७ जना पुरुष रहेका छन् । जसमा सबैभन्दा मनास्लु हिमाल आरोहणका लागि ३७१ जनाले अनुमति लिने धेरै रहेको विभागले जनाएको छ । विभागले शुक्रबार सम्म कुल १६ करोड ७२ लाख ८१ हजार ३९७ रुपैयाँ रोयाल्टी संकलन गरेको छ । मनास्लु क्षेत्र घुम्ने विदेशी पर्यटकका लागि तीन हजार, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार रुपैयाँ प्रवेश शुल्कबापत लिइँदै आएको छ । मनास्लु संरक्षण क्षेत्र अन्तर्गत चुमनुव्री गाउँपालिकाको ७ वडा पर्छ ।
मनास्लु क्षेत्र भित्र काल ताल र वीरेन्द्र ताल, गु गुम्बा, राजेन, सेराङ, हिनाङ लगायतका गुम्बाहरू, वन्यजन्तु, हिमशृंखलाको समेत अवलोकन गर्न पाउँछन् । एमक्याप अन्तर्गतको पर्यटक जाँचचौकी जगत्ले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । विदेशी पर्यटकको मात्रै अभिलेख राख्ने गरे पनि उक्त क्षेत्र पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएका छन् । मनास्लु क्षेत्र आउने पर्यटक मनास्लु हिमाल आरोहणसँगै लार्केपास गरेर पनि फर्केने गरेका छन् ।
