७ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025

दोलखाको लप्ची क्षेत्रमा पहिरो, ६ जना पर्यटक बाटोमै अड्किए



दोलखाको विगु गाउँपालिका–१ लप्चीको खराने खोलाको माथी देउरालीमा भीषण पहिरो खस्दा ६ जना पर्यटक लप्चीमा नै अड्किएका छन् ।

दोलखाको लामाबगर–खरानेखोला हुँदै लप्ची जाने एक मात्र पैदलमार्गमा भीषण पहिरो खस्दा लप्ची पुगेका ४ विदेशी पर्यटक र उनीहरुका गाईड २ जना नेपाली गरेर ६ जना पहिरोका कारण लप्चीमानै अड्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएस्पी ज्ञानकुमार महतोका अनुसार लप्ची पुगेर फर्किदै गरेका ६ जना पर्यटक पहिरोका कारण अड्किएका छन्।

उनीहरुलाई पहिरो गएको भन्दा माथी नासा हाईड्रोपावरमा सुरक्षित राखिएको उनको भनाइ छ । ‘लामाबगर–खरानेखोला हुँदै लप्ची पैदल जाने हो । पैदल जाने बाटो पहिरोमा परेपछि उनीहरुलाई अध्यारो नहिड्नुस भनेका छौं, साथै मौषमको समेत ख्याल गरेर हिड्न सुझाएका छौ ।’

चीनको सिमाना नजिकै रहेको लप्चीमा बौद्ध गुम्बा र मेडिटेशन सेन्टर छ । विभिन्न देशका पर्यटक सँगै नेपालीहरु समेत त्यस ठाउँमा धेरै जान चाहने प्रहरीले जनाएको छ ।

पर्यटकीय सिजन भएकाले त्यस क्षेत्र घुम्न जाने पर्यटक फर्किएका छन् । प्रहरीले तत्कालका लागि त्यसतर्फ जान रोक लगाइएको छ । उज्यालोमा मात्र हिड्न र मौषमको ख्याल गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार ००:००  ८ : ५९ बजे