१ मंसिर २०८२, आइतबार | Mon Nov 17 2025

इम्पेरियल वल्र्ड स्कुलमा अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरू



काठमाडौं । लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण सोमबारदेखि सुरू भएको छ । हात्तिगौँडास्थित इम्पेरियल वल्र्ड स्कुलको प्रेक्षालयमा कात्तिक १७ देखि महोत्सव सुरु भएको हो ।

६ दिनसम्म सञ्चालन हुने सो महोत्सवमा नेपाल, भारत, बङगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, युके, जापान, स्लोभाकिया, चेकरिपब्लिक, लात्भिया, ब्राजिलका कलाकार सहभागी भएको निर्देशक टंक चौलागाईंले जानकारी दिए ।

सहभागी बाल कलाकारले आफ्नै भाषा र संस्कृतिमा नाटक मञ्चन गर्नेछन्। साथै महोत्सवमा बालबालिकासँग नाट्य कार्यशाला समेत हुने आयोजकले जनाएको छ। पहिलो दिन विभिन्न देशबाट आएका कलाकारहरूलाई स्वागत गरिएको छ ।

दोस्रो दिन आयोजक स्कुलसहित ब्राजिल र बंगलादेशको नाटक मञ्चन हुने निर्देशक चौलागाईंले जानकारी दिए ।
उनका अनुसार तेस्रो दिन १८ गते जापान, युके र थाइल्यान्ड, लात्भिया र इरानको प्रस्तुति रहेनेछ। चौथो दिन १९ गते जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहने इम्पेरियल वल्र्ड स्कुलले जनाएको छ।

पाँचौँ दिन २० गते भ्याली भ्यू स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ। अन्तिम दिन श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि महोत्सव समापन हुने छ।

नाटक मञ्चन हरेक दिन बिहान १०ः३० बजे, दिउँसो १ः बजे र ५ः०० बजे रहेको छ।

बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना हुने गरेका छन् । आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने उद्देश्यले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक कुमार कार्कीले बताए ।

उद्घाटन समारोहमा कलाकार, सङ्गीत नाट्य एकेडेमीका पुर्व उपकुलपति हरिहर शर्मा, प्रो. डा. अभि सुवेदी, प्रो. डा. सावित्री कक्षपति, नाट्य निर्देशक, लेखक अषेश मल्ल, रंगकर्मी आकांक्षा कार्की, रंगकर्मी प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, राम केयसी, मन्जु गिरी, पुष्पराज अवस्थीलगायत नाट्यकर्मीहरू सहभागी भएका थिए ।

महोत्सवमा नेपालसहित १२ देशका करिब ५० कलाकार सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार ००:००  १२ : २७ बजे