नेपालले कतारलाई दिन लागेका दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिँदैछ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। त्यसपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो।
नेपालले अन्य देशलाई हात्ती उपहार दिन लागेको यो पहिलो पटक हो। यसअघि विभिन्न देशलाई एकसिंगे गैंडा भने उपहारका रूपमा पठाएको थियो।
सात वर्षकी रूद्रकली र ५ वर्षको खगेन्द्रप्रसादलाई माला, खादा लगाएर बिदा गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए।
‘नेपालले पहिलो पटक अरू देशलाई हात्ती उपहार दिन लागेको हो। त्यसैले उनीहरूलाई एउटा कार्यक्रम गरेर सौराहाबाट बिदाइ गर्दैछौं,’ पन्तले भने, ‘उनीहरूलाई राख्न खोर तयार पारिएको छ। त्यो खोर ट्रकमा राखेर भैरहवा पठाउँछौं।’
पुस २ गते बुधबार भैरहवा विमानस्थलमा नेपालले यी हात्ती कतारलाई हस्तान्तरण गर्नेछ। कतारले चार्टर विमानमार्फत् हात्तीहरू लैजानेछ। खोरसहित हात्तीहरूलाई विमानमा चढाएर कतार लगिने डा. पन्तले बताए।


