काठमाडाैं । एप्पलले अब आफ्ना उत्पादनहरु अनलाइनबाटै बिक्री गर्ने भएकाे छ । अहिलेसम्म अमेजन र फ्ल्पिकार्ड जस्ता तेश्रो पक्षमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको एप्पलले अब भने आफैले बिक्री सम्हाल्ने भएको हो ।
कम्पनीले यस वर्षदेखि प्रत्यक्ष अनलाइन बिक्री र अर्को वर्ष आधिकारीक रिटेल स्टोरको स्थापना गर्ने रणनीति लिएकाे छ । सन् २०२१ मा मोबाइल फोन निर्माता एप्पलले आफ्ना उत्पादनहरुको प्रत्यक्ष बिक्रीका लागि आधिकारीक बिक्री केन्द्रको स्थापना गर्न लागेकाे हाे ।
प्रसिद्ध अमेरिकी मोबाइल फोन तथा अन्य विद्युतीय सामाग्री निर्माता यस कम्पनीले हालै सेयरधनीहरुसँगको वार्षिक बैठकको क्रममा सो निर्णय सार्वजनिक गरेको हो । भौतिक बिक्री केन्द्रको स्थापना हुनु अघि नै कम्पनीले यसै वर्षको अगष्ट-सेप्टेम्बरदेखि भारतमा अनलाईनमार्फत आफैले बिक्री शुरु गर्ने कम्पनीका सीइओ टिम क्रुकले बताएका छन् ।
‘स्थानीय साझेदारसँग साझेदारी नगरी हामी आफैले सामाग्री बिक्री गर्ने हो भने सोका लागि हामीलाई भारतीय सरकारको विशेष स्वीकृति चाहिन्छ,’ सीइओ क्रुकले बैठकमा भने, ‘तर म चाहन्न कि हाम्रो ब्राण्ड कोहि अरुले बेचोस्, न त हामी कसैको राम्रो साझेदार नै बन्न सक्छाैं ।’
अनलाइन बिक्रीको सुरुवात उद्घाटन गर्ने र सोहि बेला आधिकारीक बिक्री केन्द्र स्थापनाको लागि भारतीय सरकारसँग विशेष अनुमति लिने उदेश्यका साथ आउँदो जुलाइदेखि सेप्टेम्बरसम्मको अवधीमा क्रुकले भारतको भ्रमण गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
‘भारत बजारमा रहेका सम्भावना र अवसरहरुबारे म पूर्णरुपमा विश्वस्त छु’, क्रुकको भनाइलाई ऐजेन्सीहरुले उदृद गर्दै भनेका छन्, ‘यहाँको बजारको चलायमानता र भारतीय जनसंख्याको उपभोगको ढाँचा अन्यको भन्दा बिल्कुलै फरक छ ।’
यसै वर्षको दोश्रो छ महिनाभित्र संसारको दोश्रो ठूलो मोबाइल फोन बजार भारतमा पहिलो रिटेल स्टोर खोल्ने योजना बनाएता पनि स्टोर स्थापनाका लागि आवश्यक सामाग्रीको आपूर्तिमा व्यवधान आएको भन्दै सो उद्देश्य अर्को वर्षमात्रै हासिल हुने कम्पनीले केहि समय अघि बताएको थियो ।
कम्पनीले मुम्बइस्थित म्याक्सिटी मलको तीन तल्ला भाडामा लिइसकेको जसमध्ये पहिलो तल्लामा अनुभव केन्द्र (एक्सपेरियन्स सेण्टर), दोश्रो तल्लामा खुद्रा बिक्री केन्द्र र तेश्रो तल्लामा सेवा केन्द्र राख्ने योजना भएको ऐजेन्सीहरुले उल्लेख गरेका छन ।
बीबीसीको एक रिपोर्टअनुसार कोरोना भाइरसको प्रकोपअघि देखि नै चीनमा एप्पलका उत्पादनहरुको बिक्री घटिरहेकाले कम्पनीले भारतजस्तो वैकल्पिक उदयीमान बजारहरुमा आफ्नो उपस्थितीलाई बलियो बनाउने रणनीति लिएको छ ।


