डोल्पा – जिल्लाको काइके गाउँपालिका-५ बैजिबाडाका निमा कुन्क्याप रोकाय बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्ष नियुक्त भएका छन् ।
सरकारको मन्त्रिस्तरीय निर्णयबाट उनी पाँच वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा विभागीय सचिव मुकुन्दप्रसाद निरौलाले नियुक्ति पत्र प्रदान गरेका हुन् ।
उनलाई बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम समिति अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले बताए।
समाजसेवी कुन्क्यापले डोल्पो बोन स्कुल खोलेर सन् २००८ सालदेखि नै डोल्पाका दु:खी, गरिब र असहाय बालबालिकालाई आवासीय सुविधासहितको शिक्षा प्रदान गर्दै आएका छन्। उनले १६ वर्षदेखि ब्यक्तिगत रुपमा विद्यालयलाई एक्लै सञ्चालन गरिरहेका छन् ।
रोकायले भारतको हिमाचलस्थित बोन धर्मको विश्वकै सबैभन्दा ठूलो मेन्ड्री गुम्बाबाट बुद्ध धर्मदर्शनमा सन् १९९४ मा विद्यावारिधि गरेका हुन् । यससँगै उनले सन् २००२ मा बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट फिलोसोफी अफ बुद्धिस्टमा पोस्ट डक समेत गरेका छन् ।


