काठमाडौं । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले पहिलो पटक ‘सालक सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । सालकको चोरी शिकारी नियन्त्रण तथा संरक्षणका उपायबारे छलफल गर्न सम्मेलन चितवनमा आयोजना गरिनेछ ।
सम्मेलनको संयोजकको जिम्मेवारी वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराललाई दिइएको छ । उनले बागमती प्रदेशका सबै जिल्लामा पाइने सालकको संरक्षण र चोरी शिकारी रोक्न सम्मेलन महत्वपूर्ण हुने बताए ।
डा. बरालका अनुसार विभिन्न अध्ययन तथा अनुसन्धानले बागमती प्रदेशका सबै जिल्लाका सामुदायिक वन क्षेत्रमा सालक पाइने देखाएको छ । एक दिने सम्मेलनमा सालकको वर्तमान अवस्था, संरक्षणका लागि भइरहेका अभ्यास र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिनेछ ।
सम्मेलनमा उपभोक्ता वन समितिका प्रतिनिधि, सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागिता रहने जनाइएको छ । साथै सहभागीबीच छलफल र अनुभव आदान–प्रदान हुने बताइएको छ ।
सम्मेलनको व्यवस्थापनको जिम्मेवारी डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यालाई दिइएको छ ।


